सर्लाही।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेश पढ्न र बुझ्न आएको बताएका छन् ।सर्लाही निर्वाचन क्षेत्र नं ४, का मतदातालाई सम्बोधन गर्दै सभापति थापाले आफूले सुनेको मधेश पढ्न र बुझ्न आएको बताए ।
विमानस्थलमा ओर्लेपछि ठाउँठाउँमा मधेशका साथीहरूले स्वागत गरेर देखाएको मायाले आफूलाई उत्साहित बनाएको थापाको भनाइ छ । नेपाली कांग्रेसको नेता भएको हैसियतले सभापति थापाले मधेशले कांग्रेस र लोकतन्त्रका लागि लगाएको गुणबारे जानकार भएको पनि उनले बताए ।

‘अब म यहाँको भाषा, रहनसहन, भेषभुषा, संस्कार संस्कृति सबै पढ्छु र सिक्छु । केही नेता साथीहरुले एक लाइन भए पनि स्थानीय भाषामा सम्बोधन गरिदिनु भन्नुभएको थियो’, थापाले भने, ‘म दुई दिनको चटक देखाउन आएको हैन । त्यसैले सबै सिक्छु अनिमात्रै बोल्छु ।’

काठमाडौं क्षेत्र नं ४ बाट अघिल्लो पटक प्रतिनिधि सभामा गएका उनले यस पटक मधेश र मधेशका सवाल नजिकबाट बुझ्ने प्रतिबद्धता जनाए ।