काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका मध्ये देशभर ४९ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । शुक्रबार निर्वाचन आयोगको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले देशभर ३ हजार ४८७ उम्मेदवारले मनोनयन गराएकोमा ४९ जना उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका हुन् ।
उम्मेदवारी दर्तादेखि फिर्ता लिनेसम्मका निर्वाचन कार्यक्रम शान्तिपूर्ण र उत्साहजनक रुपमा भएको आयोगले जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको पनि नामावली प्रकाशन गरी माघ १० गतेसम्म दाबी विरोधको समय दिइएको प्रवक्ता भट्टराईले जानकारी दिए ।
समानुपातिक प्रणालीका लागि राजनीतिक दलले गत पुस १३ र १४ गते बन्दसूची पेस गरेका थिए । माघ १० गते शनिबार समानुपातिकतर्फको दाबी विरोध सकिएपछि अन्तिम नामावली प्रकाशन गरिने त्यस अवसरमा जानकारी दिइयो ।
प्रत्यक्ष निर्वाचनतर्फको अन्तिम नामावली आज देशभरका ७७ मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन अधिकृतको कार्यालयमार्फत प्रकाशन गरिएको आयोगले जनाएको छ ।
दावी विरोध र छानबिन, उम्मेदवारी फिर्ता लगायतका कार्य सम्पन्न भएका छन् । त्यस्तै समानुपातिकतर्फ बन्दसूचीमा रहेका उम्मेदवारहरुको नामावली प्रकाशन, दावी विरोध संकलन लगायतका कार्य र समानुपातिकतर्फको मतपत्र छपाई, मतदाता नामवाली छपाई लगायतका कार्यहरु सञ्चालन भएका छन्।’
आयोगको अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारहरुलाई चुनाब चिन्ह् प्रदान गर्ने कार्यक्रम रहेको छ ।
